Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

सरकारले बढाएको न्यूनतम पारिश्रमिक अहिलेको अवस्थामा दिन नसक्ने-CNI

२०८० साउन ०३,काठमाडौं । सरकारले हालै बढाएको न्यूनतम पारिश्रमिक अहिलेको अवस्थामा दिन नसक्ने नेपाल उद्योग परिसंघ (CNI) ले जनाएको छ । विज्ञप्ति जारी गर्दै परिसंघले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने चाहना हुँदाहुँदै पनि विद्यमान समस्याका कारण हाल बढाइएको पारिश्रमिक दिन नसक्ने अवस्था रहेको जनाएको छ । सरकारले बिहीबार राजपत्रमा सूचना प्रकाशित गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको थियो ।

अर्थतन्त्र मन्दीमा रहेको र उच्च ब्याजदर, न्यून माग, न्यून उत्पादनका कारण निजी क्षेत्रकोे मनोबल घट्दो अवस्थामा रहेको परिसंघले उल्लेख गरेको छ । उद्योगहरुको प्रकृति अनुसार उत्पादनमा ७०% सम्म गिरावट आएको र उद्योगी व्यवसायीहरुले लगानीका योजना स्थगन गरिरहेको दाबी समेत परिसंघले गरेको छ ।

अर्थतन्त्र शिथिल बन्दै जाने, आन्तरिक उत्पादन नबढ्ने, उत्पादन भए पनि माग नहुने तर उत्पादन लागत बढ्दा त्यसको थप भार उद्योगहरुमाथि पर्ने भन्दै परिसंघले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने अवस्था नरहेको बताएको हो । विद्यमान चुनौतीपूर्ण अवस्थामा सुधार ल्याई अर्थतन्त्रलाई चलायमान बनाउन, समग्र बजार माग बढाउने नीति अवलम्बन गर्न, उत्पादन लागत घटाउने तथा निजी क्षेत्रको मनोबल बढाउनेतर्फ अग्रसर हुन परिसंघले माग गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया