Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

राष्ट्रिय वाणिज्य बैंकको ५९ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

१० माग, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५९ औं वार्षिकोत्सव समारोह माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा बुधबार एक समारोहकाबीच सम्पन्न भएको छ । कार्यक्रममा माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतले गतवर्ष भन्दा यो वर्ष अर्थतन्त्र राम्रो भैसकेको बताउँदै सिमित साधन स्रोतबाट बढी भन्दा बढी प्रतिफल प्राप्त गर्ने दिशामा लाग्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

अहिले राष्ट्रिय वाणिज्य बैंक राम्रो अवस्थामा रहेको बताउँदै बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकासमा थप योगदान गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले बैंकको सुधारका लागि  उदार भएर कार्य गर्ने गरेको समेत बताउनुभयो । प्रमुख अतिथि एवं माननीय डा. प्रकाशशरण महतले बैंकको थापाथली शाखाको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको थियो । उहाँले कार्यक्रममा बैंकको ५९ औं वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार–२०८० विमोचन गर्नुभएको थियो । कार्यक्रममा पूर्वकर्मचारी सम्मान कार्यक्रम, उत्कृष्ट शाखा कार्यालय, सर्वोत्कृष्ट/उत्कृष्ट बैंक सेवा पुरस्कार घोषणा गरिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधार हुँदै गएको बताउँदै अर्थतन्त्रमा राष्ट्रिय वाणिज्य बैंकको महत्वपूर्ण योगदान हुने गरेको बताउनुभयो । नेपाल राष्ट्र बैंकले लिने नीति समग्र अर्थतन्त्रको विकासको लागि हुने र राष्ट्र बैंकले ल्याउने नीति अग्रणी रुपमा राष्ट्रिय वाणिज्य बैंकले कार्यन्वयन गर्ने गरेको बताउनुभयो ।

बैंक सञ्चालक समितिका अध्यक्ष दिलीप कुमार ढुङ्गानाले बैंकिङ क्षेत्रमा बढ्दै गएको प्रतिस्पर्धात्मक वातावरण तथा तीव्र रूपमा ग्राहकका आकाङ्क्षाहरू परिवर्तन भइरहेको सन्दर्भमा यस बैंकले ठुला उद्यमी तथा साना व्यवसायीदेखि सबै प्रकारका ग्राहकका आकाङ्क्षालाई सम्बोधन गर्ने गरी बैंकिङ सेवा सुविधाहरूमा गुणस्तरीयता अभिवृद्धि गर्दै अझ बढी विश्वसनीय, सुरक्षित, प्रविधियुक्त तथा ग्राहकमैत्री बनाउन प्राथमिकताका साथ कार्य गरिरहेको बताउनुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउनु हुँदै बैंकले आफ्ना सम्पुर्ण श्रोतहरूको उच्चतम उपयोग गरी बैंकको समग्र उत्पादकत्वमा वृद्धि गर्न आवश्यक कदमहरू चालेको छ । बैंकका ग्राहकहरूलाई पनि गुणस्तरीय सेवा प्रदान गर्न बजारको माग अनुसारको सम्पूर्ण सेवा तथा सुविधाहरू उपलब्ध गराउँदै आएको छ । साथै, कर्जाको गुणस्तर, कर्मचारीको वृत्ति विकास र दिगो व्यावसायिक विकासका लागि पनि उचित कदमहरू उठाइएका छन् ।

बैंकले प्रविधिको स्तरोन्नतिको लागि Enhancement Roadmap  लाई अगाडि बढाएको, यो प्रोजेक्ट हाल बैंकमा प्रयोगमा रहेको Core Banking Software (CBS)   लाई प्रतिस्थापन गरी अत्याधुनिक Core Banking System को खरिद गरी कार्यान्वयनमा ल्याउने प्रक्रियामा रहेको बताए। उहांले बैंकका सम्पूर्ण प्रक्रियाहरू, कार्यविधि एवम् पद्धतिहरूलाई सुधार गरी बैंकको काम कार्वाही छिताे ,छरिताे र स्तरिय बनाउन Business Process Re-engineering (BPR) काे Project  अगाडि बढाई क्रमशः कार्यान्वयन गर्दै लगिएको, सरकारी पाराको आरोपलाई हदैसम्म हटाई बैंकलाई हरेक पक्षबाट सुदृढ, सबल र ग्राहकमैत्री बनाउने योजना रहेको बताउनुभयो ।

उहाँले २०८० पुस मसान्तसम्म बैंकले ३ खर्ब ३७ अर्ब रुपैंया निक्षेप संकलन गरी २ खर्ब ४६ अर्ब रुपैंया कर्जा लगानी गरेको बताउनुभयो । कार्यक्रममा पूर्व गभर्नर एवं बैंकका पूर्व कार्यकारी अध्यक्ष डा.तिलक रावल , बैंकमा क्रियाशिल तीन वटै ट्रेड युनियनका अध्यक्षहरु क्रमशः रा.वा.बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय, नेपाल वित्तीय संस्था कर्मचारी संघ, रा.वा.बैंकका अध्यक्ष ईश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रा.वा. बैंकका अध्यक्ष दिपेन्द्र कार्की, रा.वा.बैंक पूर्व कर्मचारी संघका अध्यक्ष दिनेशविक्रम थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

आज भन्दा ५९ वर्ष अघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रको विकासमा टेवा पुर्‍याउने उद्धेश्यका साथ स्थापना भएको यो बैंकसंग कारोवार गर्ने कुल ग्राहकको संख्या करिब  ५१ लाख पुगेको छ भने भौगोलिक उपस्थितिको हिसाबले ७ वटै प्रदेशका ७७ वटै जिल्ला र सबै जिल्ला सदरमूकाममा समेत गरी जम्मा २८६ शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् । डिजिटल बैंकिङ्ग क्षेत्रमा समेत बैंकले उल्लेखनीय फड्को मारेको छ ।

५९ औं वार्षिकोत्सवको अवसरमा गत माघ ४ गते आयोजना गरिएको रक्तदान कार्यक्रममा देशैझरिबाट ५७७ जना रक्तदाताहरुले रत्तदान गर्नुभएको थियो । साथै काठमाडौं तथा सातै प्रादेशिक कार्यालयहरुले वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रम गरिएको थियो । कार्यक्रममा शेयरधनीहरु, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु, बैंक सञ्चालक समितिका सदस्यहरु, पूर्व अध्यक्षहरु, पूर्व प्रमुख कार्यकारी अधिकृतहरु, विभिन्न संस्थानहरुका प्रमुखहरु, बैंकका नायव प्रमुख कार्यकारी अधिकृतहरु, उपकार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको भव्य उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया