काठमाडौं । उपन्यासकार चेतनाथ आचार्यलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गत भाषा, साहित्य, संस्कृति तथा सम्पदा संवर्द्धन समितिले प्रदान गर्ने अरनिको अन्तर्राष्ट्रिय पुरस्कार यस वर्ष चीनको बेइजिङमा बसेर पत्रकारिता गरिरहेका आचार्यको उपन्यास ‘रुइबा’लाई प्रदान गरिएको हो ।
आइतबार राष्ट्रपति भवनमा आयोजित एक समारोहमा राष्ट्रपति पौडेलले उपन्यासकार आचार्यलाई पुरस्कार प्रदान गर्नु भएको हो । यो पुरस्कारमा दुई लाख रुपियाँ नगद र सम्मानपत्र रहेको छ ।
धादिङको रुबी उपत्यकामा जन्मे–हुर्केकी एक तामाङ युवती लागूपदार्थ ओसार्ने भरियाको रूपमा प्रयोग भएकी र यी युवती अहिले चीनको कारागारमा थुनिएको कथानकमा स्वैरकल्पना मिसाएर पत्रकार आचार्यले लेखेको ‘रुइबा’ले यस पटक अरनिको अन्तर्राष्ट्रिय पुरस्कार पाएको हो ।
समारोहमा राष्ट्रपति पौडेलले नेपालका विभूति अरनिकोको नाममा स्थापित यो पुरस्कारले नेपाली कला–संस्कृति र सभ्यताको गौरव बढाएको बताउनुभयो । लेखक आचार्यले आफूले सात वर्ष लगाएर लेखेको उपन्यास ‘रुइबा’ले अरनिको अन्तर्राष्ट्रिय पुरस्कार पाएकोमा कृतिको सही मूल्याङ्कन भएको बताउनुभयो ।
समारोहमा भाषा, साहित्य, संस्कृति तथा सम्पदा संवर्द्धन समितिका संयोजक हिक्मत थापाले एनआरएनले देशमा लगानी र आर्थिक अवसर मात्रै भित्र्याउने नभएर बाहिरी विश्वमा फैलिएको नेपाली भाषा–साहित्यमा उत्प्रेरकको कामसमेत गर्ने धारणा राख्नुभएको थियो ।
गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष डा. बद्री केसीले नेपालकै पहिलो गैरआवासीय नेपाली अरनिकोको नाममा राखिएको यो पुरस्कारले नेपाल–नेपालीको पहिचानलाई थप बढाएको बताउनुभयो । कार्यक्रममा एनआरएनए अर्का अध्यक्ष कुल आचार्यले सम्मानित व्यक्तित्वलाई बधाई दिनुहुँदै राष्ट्रपतिले प्रति आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा सचिव गोविन्द गौतम, अमेरिका क्षेत्रका संयोजक राम.सी पोखरेल, एनसीसी रसिया अध्यक्ष शिवमणि भुर्तेल, निर्मला अधिकारी (चीन), देवेन्द्र भट्टराई (कान्तिपुर दैनिक), रमेश पौडेल (रेडियो नेपाल), रमेश दाहाल, भगवती बस्नेत (इजरायल), दीपक कर्ण (नाइजेरिया), नरेश कोइराला (क्यानडा), जीवन बम (अमेरिका), प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारी लगायतको उपस्थिति थियो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया