Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

काठमाडौं उपत्यकामा सुस्मिताको न्यायका लागि संघर्ष समिति गठन

काठमाडौं, ११ चैत / राजन थापा- _आफ्नै परिवारको सदस्यहरुको संलग्नतामा मारिएकी सुस्मिता केसीको न्यायका लागि भन्दै सामाजिक अभियन्ताहरुले संघर्ष समिति गठन गरेका छन् । (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियन्ताहरुले संघर्ष समिति गठन भएको औपचारिक घोषणा गरेका हुन् ।संघर्ष समितिको संरक्षकमा मृतक सुस्मितकी आमा गंगा केसी, ठूलोबुबा हेमबहादुर खड्का, बुबा कृण केसी रहेका छन् । सल्लाहकारमा नेपाल स्वयम् सेवक संघका अध्यक्ष खेमराज पौडेल छन्, विमला गैरे, जस्मिन ओझा, रेनु सेन, राजनन्द माण्डव्य रहेका छन् ।प्रचारप्रसारमा बिकास थापा र राजन थापा छन ।

काठमाडौं उपत्यका  संघर्ष समिती सम्योजकमा सामाजिक अभियन्ता बेबि राजभण्डारी , सह सम्योजक मिना बस्नेत, सदस्य सचिब मृदुला शर्मा लगायत 13 सदस्य रहेका छन।२०७७ साल असार १ गते राति हेटौंडा उपमहानगरपालिका–४ स्थित आफ्नै घरमा सुस्मितकाको क्रुर हत्या भएको थियो । उक्त हत्या प्रकरणमा जिल्ला अदालत मकवानपुरले मृतक सुस्मिताका ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाइँ अरुण कार्कीलाई जन्मकैदको सजाय सुनाएको थियो । सुस्मितकी सासुले भने मतियारको रुपमा भूमिका निर्वाह गरेको भन्दै उनलाई १० वर्ष कैद सजाय तोकिएको थियो ।

उच्च अदालत हेटौडा इजलासले उक्त घटनाका मुख्य डिजाइनर भनेर चिनिएका अरुण र दुर्गालाई सफाइ दिएको भन्दै अभियन्ताहरुले आपत्ति जनाए । सुस्मिता हत्या प्रकरणको मुख्य डिजाइनर नै दुर्गा र अरुण रहेको उनीहरुको दाबी छ । सुस्मिताको हत्यामा संलग्न कसैले पनि उन्मुक्ति नपाउन् भनेर संघर्ष समिति बनाएर अगाडि बढ्ने निर्णय भएको बताइएको छ । मृतक सुस्मिता केसीकी आमा गंगा केसीले छोरीको न्यायको लागि लड्दै हिँडेको चार वर्ष पुग्न लाग्दा पनि आफूहरुलाई न्याय पाएको अनुभूति नभएको बताईन् । उनले सुस्मिताको न्यायका लागि र प्रत्येक अन्यायमा परेका छोरीहरुका लागि आवाज उठाउन आवश्यक रहेको निश्कर्षसहित संघर्ष समिति बनाएरै न्यायका लागि होमिने निर्णयमा पुगेको बताईन् ।

‘सुस्मिताको न्यायका लागि र प्रत्येक अन्यायमा परेका छोरीहरुका लागि आवाज उठाउन पर्छ भनेर संघर्ष समिति बनाउन पर्छ भन्नुभयो । हामीले पनि यसमा साथ दिएका छौं । मैले कलिलो उमेरमा विवाह भएर १६ वर्षकै उमेरमा सुस्मितालाई जन्म दिएको थिए । आज आएर सुस्मितालाई मैले अपराधीलाई मार्न जन्म दिएको जस्तो भएको छ । त्यो अपराधीले डिजाइन गरेर सुस्मितालाई मार्यो । हामी यति तड्पिन परेको छ कि त्यो दिनदेखि हाम्रो मन शान्त छैन,’– उनले भनिन् । मृतक सुस्मिताका ठूलोबुबा हेम खड्काले अरुण र दुर्गा उक्त हत्या प्रकरणका प्रमुख डिजाइनर रहेको दाबी गरे । उनले आफूहरुको सर्वोच्चमा पुनरावेदन गर्ने अधिकार बाँकी नै रहेकाले उक्त उच्च अदालतको फैसलाविरुद्ध पुनरावेदन जाने उनले बताए । सुस्मितको न्यायका लागि काठमाडौंलगायत देशैभर शान्तिपूर्ण संघर्षका कदम अगाडि बढ्नुपर्ने उनले बताए ।मृतक सुस्मिता केसीकी बुबा कृष्णबहादुर केसीले सुस्मित हत्या प्रकरणमा मात्रै नभएर देशैभर यसरी मारिएका छोरीहरुले न्याय पाउनु पर्ने र अपराधीलाई कानुनी कारबाही गरिनुपर्ने बताए । न्याय पाउनु आफूहरुको हक भएको उनले बताए । छोरी गुमाएपनि राज्यले उचित न्याय दिन्छ भन्ने आफूले जहिल्यै अपेक्षा गरेपनि त्यसो नभएको उनले बताए ।सुस्मिताको हत्या भएपछि अरुण र दुर्गाले प्रमाण नष्ट गरेको र १३ दिनपछि अनुसन्धानमा नसघाएर १४ महिना फरार भएको उनको दाबी छ । २०७६ साल वैशाख १८ गते प्रकाशका छोरा रुपेन्द्रसँग सुस्मिताको विवाह भएको थियो । सोही वर्षको असोज २३ गते मोटरसाइकल दुर्घटनामा रुपेन्द्रको मृत्यु भएको थियो ।

रुपेन्द्रको मृत्युपछि जीवन बीमावापतको रमक पनि सुस्मितालाई नदिबाट बञ्चित गराउन अरुणले निकै चलखेल गरेको उनको दाबी छ । जीवन बिमा गराउने अभिकर्ता अरुण आफैं रहेको र उनले सुस्मितको किर्ते हस्ताक्षर गरेर बिमा वापतको रमक समेत दाबी गरेको बताइएको छ । मृतक रुपेन्द्र (सुस्मितका श्रीमान) ले काम गर्ने कम्पनीले दिनुपर्ने रकम सुस्मितालाई नदिन भन्दै अरुणले पटक–पटक कम्पनीलाई दवाब दिएको उनको दाबी छ । सुस्मितको हत्या हुनु अगाडि देखिनै अरुण लगायतले श्रृङ्खलाबद्ध रुपमा मानसिक पीडा दिएको उनले बताए । सामाजिक अभियन्ता जस्मिन ओझाले निर्दोष भए अरुण र दुर्गा १४ महिनासम्म भागेर हिँडेको, लुकेर बस्नुपर्ने कुनै कारण नरहेको बताईन् । अपराधीहरुको समाज बन्न नदिनका लागि संघर्ष समिति बनाएर नै अगाडि बढ्ने निर्णय भएको उनले बताईन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया